काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १गते)देखि पहिलो चरणको आइपीमो निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।
सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँको रु.१०० अंकित दरका १० लाख ४० हजार कित्ता साधारण सेयर मध्ये आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थायी बासिन्दाहरुलाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत)सेयर, आयोजनाको प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दाहरुलाई ३ लाख १२ हजार कित्ता (३० प्रतिशत)सेयर र उक्त आयोजनाको न्यून प्रभावित क्षेत्र अर्थात् आयोजनाको अति प्रभावित र प्रभावित क्षेत्र बाहेकको सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरुका स्थायी बासिन्दाहरुका लागि बाँकी २ लाख ८ हजार कित्ता (२० प्रतिशत)सेयर निष्काशन गरी बिक्री वितरण गरिने छ ।
साथै, आयोजनाको प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको बासिन्दाहरुलाई सेयर बाँडफाँड गरे पश्चात् सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात रु.१० करोड ४० लाख रुपैयाँ रकम बराबरको रु. १०० अंकित दरका १० लाख ४० हजार कित्ता सेयर मध्ये १ लाख ४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न प्रारम्भिक निष्काशन गरिएको हो ।
यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको सेयर सम्पूर्ण रुपमा बिक्री नभई बाँकी रहेमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा समायोजन गरी निष्काशन गरिने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।