सुनिल थापाको सम्झनामा प्रियंका चोपरा : “तपाईं सधैं मेरो जीवनका मार्गदर्शक रहनुहुनेछ”

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपरा जोनासले नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत भावुक सन्देश साझा गर्दै उनले थापालाई श्रद्धाञ्जलि अर्पण गरेकी हुन्।

प्रियंकाले ‘मेरी कोम’ चलचित्रको एक भावनात्मक दृश्य साझा गर्दै सुनिल थापालाई सह–कलाकार मात्र नभई आफ्नो जीवनको प्रेरणास्रोत र मार्गदर्शकका रूपमा स्मरण गरेकी छन्। व्यक्तिगत जीवनको कठिन समय, विशेषतः बाबुको निधनपछि आफू अत्यन्तै कमजोर अवस्थामा हुँदा थापाले दिएको साथ, माया र हौसला उनले कहिल्यै नबिर्सने उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, “तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ। मलाई थाहा नभएको बेलामा पनि तपाईंले परिवारझैं माया गर्नुभयो र कठिन क्षणहरू पार गर्न शक्ति दिनुभयो।”

थापाको मुस्कान, सरलता र सकारात्मक सोच आफ्नो मनमा सधैं जीवित रहने भन्दै प्रियंकाले उनको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। साथै, उनले दिवंगत थापाको परिवारप्रति सहानुभूति र समवेदना प्रकट गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार