आज पनि घट्यो शेयरबजार, ७ अर्ब ४९ करोडको कारोबार

काठमाडौँ – शेयरबजार परिसूचक नेप्सेमा आज पनि घट्न पुगेको छ । हिजो १२.५८ अंकले घट्दै २ हजार ६८३.१५ बिन्दुमा झरेको नेप्से सूचक आज थप १.६४ अंकले घट्न पुगेको हो ।

यो साता प्रायः दिन नेप्से निरन्तर घटिरहेको छ । त्यसो त सूचकसँगै यता कारोबार पनि घटिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज जम्मा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड ६६ लाख ८२ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन १२ अंकमाथिले सूचक घटेको बजारमा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँमाथिको शेयर दोस्रो बजारमा कारोबार भएको थियो ।

यसअघि सोमबार १.५३ अंकले नेप्से बढ्दा ८ अर्ब २२ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको थियो । केही अघि सक्रिय बनेका लगानीकर्ताहरु पछिल्ला दिनहरुमा केही सुस्ताउँदा नेप्सेको सूचकसँगै कारोबारमा पनि कमी आएको हो ।

नेप्सेका अनुसार आज बैंकिङ समूह, जीवन बीमा, माइक्रोफाइनान्स, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक हुँदा बाँकी समूहको उपसूचक भने केहीँ बढेको छ ।

आज चारवटा कम्पनीको शेयर मूल्यमा सर्किट लाग्दा १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार