काठमाडौं । जिल्ला निर्वाचन कार्यालय ललितपुरले तीनवटै निर्वाचन क्षेत्रका उमेदवारसँग छलफल गरेको छ । ललितपुर–२ का प्रमुख निर्वाचन अधिकृत सम्झना सिंखडा पुडासैनीका अनुसार, निर्वाचन आचारसंहिता र प्रचार–प्रसारका विषयमा तीनवटै क्षेत्रका उमेदवारसँग छलफल गरिएको हो ।
पुडासैनीले बाह्रखरीसित भनिन्, “निर्वाचन प्रचारका विषयलाई लिएर उमेदवारहरू अझै पनि अस्पष्ट हुनुहुँदो रहेछ । अरुले यसो गरे हामीले पाएनौँ भन्ने धेरैको जिज्ञासा थियो । हामीले आचारसंहिताभित्र रहेर प्रचार–प्रसार गर्न पाउने स्पष्ट गर्यौँ ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी हुने दल र उमेदवारले छुट्टै बैंक खाता खोल्ने विषयलाई लिएर पनि उमेदवारमा अलमल रहेको उनले बताइन् । “चुनावी खर्चलाई पारदर्शी बनाउन निर्वाचन प्रयोजनकै लागि छुट्टै खाता खोल्न भनेका हौँ । निर्वाचन आचारसंहिता २०७२ को दफा १३ अनुसार प्रचारका क्रममा गर्न हुने र नहुने कार्यका बारेमा छलफल भएको हो,” उनले भनिन् ।