वीरगन्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

पर्सा । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगन्जबाट एक अर्ब ३६ करोड २९ लाख रुपैयाँबराबरका ४५६ विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आवको ६ महिनाको तुलनामा यसपालि संख्याका आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ ।

चालु आवको ६ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्र ८७ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व संकलनमा पनि वृद्धि भएको बताए ।

गत आवको ६ महिनामा ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात गरिएको थियो । ती सवारीसाधनको आयातबाट २४ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार, वीरगन्ज नाका हुँदै चालु आवको ६ महिनामा ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जीप, कार र भ्यान आयात गरिएको छ । ती सवारीसाधनको आयातबाट दुई अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार