अमेरिकी डलर चार वर्षकै न्यून विन्दुमा कसरी पुग्यो ? के अझै घट्न सक्छ ?

काठमाडौं । २०२५ साल निकै उतारचढावपूर्ण रह्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका भन्सार शुल्क (ट्यारिफ) नीतिहरूले अमेरिकी डलरलाई कमजोर बनाएको थियो । त्यसपछि मुद्रा व्यापारीहरू २०२६ अपेक्षाकृत शान्त हुने आशामा थिए । तर पछिल्ला हप्ताहरूले त्यो अपेक्षा चकनाचुर बनाइदिएका छन् ।

मंगलबार डलर चार वर्षयताकै न्यून स्तरमा झरेको छ । युरो र पाउन्डको तुलनामा पनि डलर बहुवर्षीय न्यून बिन्दुमा पुगेको छ । करिब एक सातामै डलर करिब ३ प्रतिशतले घटेको थियो । यद्यपि हाल गिरावट केही सुस्त भएको छ, तर विश्लेषकहरूका अनुसार यो राहत अस्थायी मात्रै हुन सक्छ ।

आईएनजीका विश्वव्यापी वित्तीय बजार अनुसन्धान प्रमुख क्रिस टर्नर भन्छन्, “धेरैजसो मानिसको धारणा छ—डलर यस वर्ष अझ कमजोर हुन सक्छ, हुनुपर्छ र हुनेछ । समयको कुरा अझै खुला छ, तर दिशाबारे त्यति धेरै अन्योल छैन ।” डलर कमजोर हुँदा अमेरिकीहरूको क्रयशक्ति घट्छ । विदेश भ्रमण गर्ने अमेरिकीहरूले यसको प्रत्यक्ष प्रभाव महसुस गरिरहेका छन् । यही क्रम जारी रहेमा आयातित वस्तु महँगिने र अमेरिका भित्रै मुद्रास्फीति बढ्ने जोखिम रहेको विश्लेषकहरूको भनाइ छ ।

यस गिरावटले अझ गहिरो प्रश्न पनि उठाएको छ—के दशकौँदेखि विश्वको मुख्य मुद्रा रहँदै आएको डलरको त्यो हैसियत खतरामा पर्न लागेको हो रु यही हैसियतका कारण अमेरिकाले तुलनात्मक रूपमा कम ब्याजदरमा ऋण लिन सकेको थियो ।

डलरसँग के भयो ?

डलर करिब एक दशकभन्दा बढी समयदेखि बलियो अवस्थामा थियो । विशेषगरी २०२० देखि २०२२ को बीचमा महामारीपछिको अमेरिकी आर्थिक वृद्धिदर र उच्च ब्याजदरका कारण डलरमा लगानीकर्ताको आकर्षण बढेको थियो । तर गत वर्ष डलर सूचकांक—जसले विभिन्न मुद्राको टोकरीसँग डलरको मूल्य तुलना गर्छ—झन्डै १० प्रतिशतले घट्यो । यो २०१७ यताकै सबैभन्दा खराब प्रदर्शन थियो । यो गिरावटको ठूलो हिस्सा ट्रम्पले गत वसन्तमा घोषणा गरेको ‘लिबरेसन डे’ ट्यारिफपछि देखिएको थियो । यस महिना अमेरिका र युरोपबीच ग्रिनल्याण्डलाई लिएर तनाव बढेपछि डलर अझै कमजोर भयो । त्यसपछि अमेरिका र जापानले मिलेर येनलाई बलियो बनाउन डलर बेच्ने सम्भावनाबारे अड्कलबाजी चल्दा डलरमाथि थप दबाब पर्‍यो ।

डलर किन कमजोर हुँदैछ ?

विश्लेषकहरूका अनुसार डलरको गिरावट ट्रम्प प्रशासनका नीतिप्रति बजारको चिन्ताको संकेत हो । ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो तथा गोल्डम्यान स्याक्सका पूर्व मुद्रा रणनीतिकार रोबिन ब्रुक्स भन्छन्, “बजारले प्रतिक्रिया जनाइरहेको मुख्य कुरा प्रशासनको नीतिगत अस्तव्यस्तता हो—कहिले कडा, कहिले नरम । ट्यारिफ र ग्रिनल्याण्ड दुवै सन्दर्भमा यो देखियो ।” उनका अनुसार डलरको कमजोरी “यस प्रकारको अराजक नीति अन्ततः अमेरिकालाई नै सबैभन्दा धेरै हानि पुर्‍याउँछ भन्ने बजारको निष्कर्ष” हो।

म्याक्वेरीका विदेशी मुद्रा रणनीतिकार थिएरी विजम्यानका अनुसार, यस वर्षको सुरुवातसम्म भू–राजनीतिक तनावले बजारलाई खासै हल्लाएको थिएन । तर ग्रिनल्याण्डसँग जोडिएको व्यापार तनाव चर्किँदा लगानीकर्ता झस्किएका छन् । यसका अतिरिक्त, विदेशमा बढ्दो लगानी अवसर र हालै जापानी बन्ड बजारमा आएको गिरावटले पनि डलरमाथि दबाब बढाएको छ । केही व्यापारीहरूले येन र डलरबीचको मूल्य अन्तरबाट फाइदा लिने रणनीति फिर्ता लिन थालेका छन् ।

पैसा कहाँ गइरहेको छ ?

डलरबाट बाहिरिएको पूँजी सुनतर्फ आकर्षित भएको देखिन्छ । पछिल्लो एक वर्षमा सुनको मूल्य दोब्बर भएको छ । लगानीकर्ताहरू सुरक्षित विकल्प खोजिरहेका छन् । युरो र पाउन्ड यस महिना डलरको तुलनामा उल्लेखनीय रूपमा बलियो बनेका छन् । अक्सफोर्ड इकोनोमिक्सले ट्र्याक गर्ने १९ उदीयमान बजारमध्ये ११ देशका मुद्राहरू पनि १ प्रतिशतभन्दा बढीले मजबुत भएका छन् । केही युरोपेली पेन्सन कोषहरूले अमेरिकी सरकारी ऋणपत्र (ट्रेजरी) मा लगानी घटाएको समाचारले पनि ‘अमेरिकाबाट दूरी’ को संकेत दिएको छ । तर आईएनजीका टर्नरका अनुसार बजार अझै पूर्ण रूपमा ‘सेल अमेरिका’ भन्ने अवस्थामा पुगेको छैन । अमेरिकी सेयर बजार अझै उच्च स्तरमै छ र सरकारी ऋण बजार पनि तुलनात्मक रूपमा स्थिर देखिन्छ ।

ट्रम्प कमजोर डलर चाहन्छन् ?

हालको गिरावट अमेरिकी उपभोक्ताका लागि ठूला समस्या सिर्जना गर्ने तहमा पुगेको छैन । तर आगामी दिन अमेरिकी अर्थतन्त्रको अवस्था र केन्द्रीय बैंकले ब्याजदर कति छिटो घटाउँछ भन्ने कुरामा निर्भर हुनेछ । ट्रम्पले ब्याजदर छिटो घटाउन दबाब दिँदै आएका छन् । उनले आफ्नो धारणा अनुकूल व्यक्ति फेडरल रिजर्भको नेतृत्वमा ल्याउने अपेक्षा गरिएको छ । ब्याजदर घटेमा डलर अझ कमजोर हुन सक्छ, किनकि लगानीकर्ता बढी प्रतिफल खोज्दै अन्यत्र जान सक्छन् । तर ह्वाइट हाउसका लागि कमजोर डलर सकारात्मक पनि हुन सक्छ । कमजोर डलरले अमेरिकी निर्यात प्रतिस्पर्धी बनाउँछ ।

ट्रम्प स्वयंले विगतमा भनेका छन्, “कमजोर डलर राम्रो सुनिँदैन, तर बलियो डलरभन्दा यसबाट धेरै पैसा कमाउन सकिन्छ ।” ब्रुक्सका अनुसार, डलरको निरन्तर गिरावटले अमेरिकी कम्पनीलाई फाइदा पुर्‍याउन सक्छ । तर यदि त्यो गलत कारणले भइरहेको हो भने—जस्तै बजारले खराब नीतिको फैसला सुनाइरहेको हो भने—त्यो गम्भीर चेतावनी हुन सक्छ । बीबीसीबाट अनुवादित

प्रतिक्रिया
सम्बन्धित समाचार