काठमाण्डौ । वाणिज्य बैंकहरुले साढे ३० अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म २० वाणिज्य बैंकले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११.५१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिसम्म आइपुग्दा बैंकहरुको खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढ्न टेवा पुगेको छ । दोस्रो त्रैमाससम्म लक्ष्मी सनराइज बैंक बाहेक सबै बैंक नाफामा देखिएका छन् ।
नाफामा रहेका १९ बैंकमध्ये पनि ११ बैंकको नाफा गत आवको तुलनामा उल्लेख्य बढेको छ भने ८ बैंकको घट्न पुगेको छ । तर समग्रमा बैंकहरुको नाफा ग्रोथमा प्रगति देखिएको छ ।
केही समयअघि सम्म बैंकहरुको नाफामा जेनजी आन्दोलको प्रभाव देखिएको थियो । आन्दोलनका कारण चौतर्फी उद्योग व्यवसायमा प्रत्यक्ष असर गर्दा बैंकहरुको कर्जा असुली प्रभावित हुँदा बैंकहरुको खराब कर्जा अनुपात बढेकाले नाफा घट्न पुगेको थियो ।
तर विस्तारै बैंकहरुको कर्जा असुली प्रक्रिया सहज हुँदै गएको छ, जसकारण बैंकहरुको ब्याज आम्दानीमा सुधार देखिन थालेको छ । साथै बैंकहरुको दोस्रो त्रैमाससम्म इम्पेयरमेन्ट चार्ज पनि घटेको देखिन्छ, जसकारण नाफा बृद्धिमा यसले टेवा पुर्याएको छ ।
सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकले सो अवधिसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ४६.७१ प्रतिशत बढी हो ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि गत आवको तुलनामा ६.५० प्रतिशत बढाएर ३ अर्ब २५ करोड नाफा कमाएको छ भने कुमारी बैंकले दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा बढाएको छ । बैंकले ८८६ प्रतिशत नाफा ग्रोथ गरि २ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ ।
सबैभन्दा थोरै नाफा कमाउनेमा एनआइसी एशिया बैंक रहेको छ । यो बैंकले जम्मा १३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा १३.५४ प्रतिशत कम हो । लक्ष्मी सनराइज बैंकले भने दोस्रो त्रैमाससम्म २७ करोड ३६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।