भारतमा टी– २० विश्वकप नखेल्ने बंगलादेशको निर्णय

काठमाडौँ – बंगलादेशले भारतीय भूमिमा आईसीसी पुरुष टी–२० नखेल्ने निर्णय गरेको छ । बंगलादेशको अन्तरिम सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलसँगको आज भएको छलफलपछि विश्वकपका लागि भारत नजाने निर्णयमा पुगेको बंगलादेश क्रिकेट बोर्डका (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम बुलबुलले जानकारी दिए ।

बीसीबीका अध्यक्ष बुलबुलले फेरि आईसीसीलाई अनुरोध गर्ने बताए । ‘हामी आईसीसीसँग फेरि अनुरोध गर्नेछौं। हामी श्रीलंकामा खेल्न चाहन्छौं, भारतमा होइन,’उनले भने ।

यसैगरी, खेलकुद सल्लाहकार नजरुलले भने ‘सरकारको निर्णय स्पष्ट छ, बंगलादेश भारतमा हुने विश्वकपमा खेल्ने छैन’, ‘हामीले आईसीसीबाट न्याय पाएका छैनौं । आशा गर्छौं आईसीसीले सुरक्षा चिन्तालाई विचार गर्दै श्रीलंकामा खेल्ने हाम्रो अनुरोधलाई स्वीकार गर्नेछ।’

भारतसँग जारी तनावकाबीचमा, बंगलादेशले सुरक्षा कारण देखाउँदै विश्वकपका आफ्ना खेलहरू श्रीलंकामा सार्न अनुरोध गरेको थियो ।

यसअघि बुधबार भएको आईसीसी बोर्ड बैठकपछि आईसीसीले बीसीबीका सुरक्षा चिन्तालाई अस्वीकार गर्दै, भारतमा खेल्न अस्वीकार गरे बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर अर्को टिमलाई मौका दिने चेतावनी दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार