गरिब झनै गरिब बन्दै’ – राष्ट्रिय तथ्याङ्क

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको “लघुक्षेत्रीय गरिबी अनुमान २०२३” ले नेपालमा गरिबीको वास्तविक, गहिरो र असमान तस्वीर उजागर गरेको छ । समग्रमा देशको २० दशमलव २७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि रहेको देखिए पनि भौगोलिक क्षेत्र, प्रदेश, जिल्ला र स्थानीय तहअनुसार गरिबीको अवस्था अत्यन्त फरक–फरक रहेको तथ्यांकले देखाउँछ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै जिल्ला तथा स्थानीय तहमा गरिबीको दर राष्ट्रिय औसतभन्दा निकै माथि पुगेको छ, जसले विकासका प्रयासहरू अझै समानरूपमा पुग्न नसकेको संकेत गर्दछ।

ग्रामीण र सहरी क्षेत्रको तुलना गर्दा ग्रामीण क्षेत्रमा गरिबीको दर २४ दशमलव ६६ प्रतिशत रहेको छ भने सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत मात्र छ। ग्रामीण क्षेत्रमा कृषि नै मुख्य जीविकोपार्जनको साधन भएकाले मौसम, बजार मूल्य र उत्पादन क्षमतामा आएको सानो उतारचढावले पनि गरिबीलाई गहिरो बनाउने गरेको छ। सहरी क्षेत्रमा रोजगारीका अवसर, सेवा सुविधा र बजार पहुँच राम्रो भएकाले गरिबीको दर तुलनात्मक रूपमा कम देखिएको हो। तर फैलावटको हिसाबले भने शहरी भेगमा धेरै गरिबी फैलिएको देखिएको छ । गरिबी फैलावटको हिसाबले शहरी भेगमा ६२ प्रतिशत गरिबी फैलिएको छ भने ग्रामीण भेगमा करिब ३७ प्रतिशत मात्रै फैलावट रहेको तथ्यांकले देखाएको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै गरिबीको दर सुदूरपश्चिम प्रदेशमा ३४ दशमलव १६ प्रतिशत रहेको छ। त्यसपछि कर्णाली प्रदेशमा २६ दशमलव ६९ प्रतिशत र लुम्बिनी प्रदेशमा २४ दशमलव ३५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखिन्छ। यसको ठीक उल्टो अवस्थामा गण्डकी प्रदेश रहेको छ, जहाँ गरिबीको दर ११ दशमलव ८८ प्रतिशत मात्र छ। बागमती प्रदेशमा पनि गरिबीको दर तुलनात्मक रूपमा कम अर्थात् १२ दशमलव ५९ प्रतिशत रहेको छ, विशेषगरी काठमाडौँ उपत्यकामा यो दर झनै कम भएर ७ दशमलव ३८ प्रतिशतमा सीमित भएको छ।

स्थानीय तहको स्तरमा हेर्दा गरिबीको अवस्था झनै गम्भीर देखिन्छ। कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित जुनिचाँदे गाउँपालिकामा गरिबीको दर सबैभन्दा बढी ७७ दशमलव ८९ प्रतिशत पुगेको छ। यसपछि मुगुको सोरु गाउँपालिका, अछामको ढकारी गाउँपालिका, बैतडीको सिगास गाउँपालिका र अछामकै कमलबजार नगरपालिकामा गरिबीको दर ६५ प्रतिशतभन्दा माथि रहेको छ। यी स्थानीय तहहरूमा बहुसंख्यक जनसंख्या आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा रहेको स्पष्ट हुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार