काठमाडौं । नेपाल राष्ट्र बैंकले आज थप २० अर्ब रूपियाँको ऋण पत्र बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्ने भएको छ । आज मध्यान्ह २ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले यो महिनामा पाचौं पटक ऋणपत्र बिक्री गर्न लागेको छ । राष्ट्र बैंकले यसअघि पुस १४, १६, २० र २२ गते २५–२५ अर्बको ऋणपत्र बिक्री गरेको छ । त्यसपछि आज पुस २३ गते राष्ट्र बैंकले थप २० अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र ङ’ बिक्री गर्न लागेको हो ।
यो ऋणपत्रको अवधि एक बर्षको रहेको छ । क, ख र ग बर्गका बैंकले मात्रै यो ऋणपत्र खरिद गर्न सक्नेछन् । अहिले कर्जाको माग न्यून भएका कारण बैंकहरूमा झण्डै १२ खर्ब तरलता थुप्रिएको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले ऋणपत्र समेत बिक्री गरेको हो ।
पाँचौं पटकसमेत गरी राष्ट्र बैंकले एक खर्ब २० अर्ब बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । आज मध्यान्ह २ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्नेछ । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरूले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा पाँच करोड रूपियाँ र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । एक बर्षपछि २०८३ पुस २३ गते साँवा भुक्तानी गरिनेछ । ब्याज भने अर्ध वार्षिक रुपमा भुक्तानी गरिनेछ ।