काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ख’ उपकरण निष्कासन गर्न लागेको हो । यसको बोलकबोल बुधबार ९पुस १६० मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
यसको सावाँ आगामी २०८३ पुस १६ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात ९सीआरआर०मा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ ।
ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले पुस १४ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो ।