काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा तरलता अधिक भएपछि खुला बजार कारोबारमार्फत एकवर्षे अवधिका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘क’ उपकरण निष्कासन गर्न लागेको हो । यसको बोलकबोल सोमबार (पुस १४) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ ।
राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको सावाँ आगामी २०८३ पुस १४ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ ।