सेनिटरी प्याड खरिद गर्दा ५१ लाखबढी अनियमितता, पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हालप्रसाद वर्णवाल समेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ५१ लाख ९९ हजार १२० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागर देवी फर्मा हेटौँडा तथा उक्त फर्माका प्रोपाइटर विमलेश शाह छन् ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ५१ लाख ९९ हजार १२० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

कलैया उपमहानगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले मिलोमतोमा आर्थिक वर्ष २०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी आर्थिक अनियमितता गरेको पाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार