नेपाल सरकारको ऋण २७ खर्ब ८८ अर्बबढी

काठमाडौं । नेपाल सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व २७ खर्ब ८८ अर्ब ५३ करोड रूपियाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

गत असार मसान्तसम्म सरकारको कुल ऋण २६ खर्ब ७४ अर्ब चार करोड रूपियाँ थियो । चालु आवको पाँच महिनामा त्यो थप बढेर २७ खर्ब ८८ अर्ब ५३ करोड रूपियाँ पुगेको हो ।

सरकारले यो पाँच महिनामा एक खर्ब ७५ अर्ब १२ करोड ३१ लाख रूपियाँ ऋण लिएको छ । यही अवधिमा एक खर्ब ३८ अर्ब ३० करोड रूपियाँ साँवा भुक्तानी पनि गरेको छ । यसै गरि यस बीचमा विदेशी विनिमय दरमा आएको बृद्धिले ७७ अर्ब ६६ करोड रूपियाँ दायित्व थपिएको छ ।

सरकारले तिर्नुपर्ने कुल ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रूपियाँ पुगेको हो । त्यसमा आन्तरिक ऋण १३ खर्ब एक अर्ब ६३ करोड रूपियाँ र बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रूपियाँ रहेको छ । यो ब्याज बाहेकको साँवा ऋण मात्रै हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार