बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि आज २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिन थालेपछि नेपाल राष्ट्र बैंकले त्यसको व्यवस्थापनका लागि सक्रियता देखाएको छ । यही क्रममा केन्द्रीय बैंकले आज पुस २ गते बैंक तथा वित्तीय संस्थाबाट थप २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार अधिक तरलताका कारण मौद्रिक सन्तुलन कायम गर्न निक्षेप संकलन उपकरण प्रयोग गरिएको हो। यसअन्तर्गत आज दिउँसो २ बजे बोलकबोलमार्फत बैंकिङ प्रणालीबाट रकम तानिने बैंकले जनाएको छ ।

बोलकबोल प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी प्रस्ताव गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ र एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोलसमेत गर्न सक्ने व्यवस्था गरिएको छ।

यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ। संकलित रकम ८४ दिन अवधिका लागि राष्ट्र बैंकमा राखिनेछ र आउँदो फागुन २७ गते मूलधनसहित ब्याज भुक्तानी गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार