काठमाडौं । दुई सूचीकृत कम्पनीको लाभांश प्राप्त गर्ने अन्तिम अवसर रहेको छ। आजसम्म शेयर खरिद गरी नेप्सेमा नाम दर्ता भएका लगानीकर्ताले लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शन लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्न सक्नेछन्।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि दुवै कम्पनीले भोलि अर्थात् पुस १ गते बुकक्लोज गर्ने जनाएका छन्।
लक्ष्मी सनराइज बैंक लिमिटेडले पुस १४ गते, सोमबार, काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा २५ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभामा बैंकले हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
उता, कालिञ्चोक दर्शन लिमिटेडले पुस १५ गते, मंगलबार, काठमाडौँको गौशालास्थित बद्रीनाथ होटलमा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।