प्रयोजन नखुलेको व्यक्तिगत कर्जाको सीमा अब दोब्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको व्यक्तिगत कर्जाको सीमा दोब्बर बनाएको छ । यसअघि निश्चित प्रयोजन नखुलेका व्यक्तिगत कर्जा र ओभरड्राफ्ट कर्जा अधिकतम ५० लाख रुपैयाँसम्म मात्र दिन सक्ने व्यवस्था थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरिएको हो । अब बैंकहरूले प्रयोजन नखुलेको अवस्थामा पनि एक करोड रुपैयाँसम्म व्यक्तिगत कर्जा दिन सक्ने भएका छन् ।

निर्देशन अनुसार बैंकहरुले निश्चित प्रयोजन नखुलेका व्यक्तिगत अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत सबै व्यक्तिगत प्रयोजनका कर्जा १ करोड रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्नेछन्। त्यस्तै, कुनै व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा कुल कर्जा १ करोड रुपैयाँभन्दा बढी नहुने सुनिश्चित गर्न बैंकहरुले ध्यान दिनुपर्ने निर्देशनमा बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार