काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता शेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम रु छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार रु पाँच अर्बमा सीमित रह्यो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता शेयर रु छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा पर्यो ।