जीवनदान पाएका भुर्तेल अर्धशतक बनाएर आउट 

काठमाडौं । व्यक्तिगत आठ रनमा खेलिरहँदा जीवनदान पाएका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक बनाएका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा पोखराका मार्की तथा कप्तान कुशलले सुदूरपश्चिमविरुद्ध ३० बलमा चार चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन् । १५.३ ओभरमा ५० रन पूरा गरेका भुर्तेल लगत्तै अर्को बलमा बोल्ड भए । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिनले बोल्ड गरे ।

जारी प्रतियोगितामा भुर्तेलको यो दोस्रो अर्धशतक हो । भुर्तेलले यसअघि विराटनगर किंग्सविरुद्ध ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । भुर्तेल जारी सिजन लगातार दोस्रो अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि चितवन राइनोजका रवि बोपाराले दुई खेलमा लगातार अर्धशतक बनाएका थिए ।

दोस्रो इनिङको आठौँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले जिवनदान पाए । दीपेन्द्रसिंह ऐरीले गरेको उक्त ओभरको पहिलो बलमा भुर्तेल आठ रनमा हुँदा जस ब्रोनले क्याच छुटाएका थिए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा पोखराले ६ विकेट गुमाएर १२७ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार