काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा शनिबार हुने खेलको टिकट ‘सोल्डआउट’ (सबै बिक्री) भएको छ । शुक्रबार एनपीएलको अनलाइन टिकट विक्रेता खल्तीले भोलि हुने खेलको सबै टिकट बिक्री भइसकेको जनाएको हो ।
शनिबार लिगअन्तर्गत पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे हुनेछ ।
त्यसैगरी, दोस्रो खेलमा काठमाण्डू गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ३ः३० बजे हुनेछ ।
खेलमा कर्णाली पहिलो जितको खोजीमा हुनेछ । कर्णाली यसअघि गत मंसिर २ गते सम्पन्न चितवन राइनोजविरुद्धको खेलमा चार विकेटले पराजित भएको थियो ।
लुम्बिनी भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । लुम्बिनीले हिजो सम्पन्न आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो ।
त्यसैगरी, विराटनगर पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ । विराटनगरले यसअघि सम्पन्न आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो ।
काठमाण्डू भने दोस्रो जितको खोजीमा हुनेछ । हालसम्म दुई खेल खेलेको काठमाण्डूले तालिकामा समान एक जित र हारसहित दुई अंक जोडेको छ । काठमाण्डूले यसअघि सम्पन्न उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।