एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (सफ्ट पीओएस) सेवा सुरु गरेको छ । यो सेवासँगै डिजिटल भुक्तानी प्रविधिमा एक महत्त्वपूर्ण कदम अघि बढाएको बैंकले जनाएको छ । एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।

यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरूलगायत अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन् । यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ ।

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवालगायत ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने “सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठूलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।”

सफ्टपोसले अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८४ एटीएम र नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार