विश्वकप लिग टू: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ।

लगातार तीन हार बेहोरेको नेपाल यस सिरिजमा जितविहीन बन्ने जोखिममा छ।

अमेरिका र यूएईसँगका सुरूवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले अमेरिकासँगको तेस्रो खेलमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि जित हात पार्न सकेन।

सिरिजमा तीन खेल हारेको नेपाल सान्त्वना जितको खोजीमा हुने छ। अघिल्लो खेलमा अमेरिकासँग २ सय ४३ रनको फराकिलो हार बेहोरेको यूएईले पनि घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको छ।

यस सिरिजमा यूएई अमेरिकासँगका दुबै खेलमा पराजित भएको छ भने नेपालविरूद्ध जित हात पारेको छ।

लिग–टूमा नेपाल हाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ। समान खेलमा ८ अकं जोडेको यूएई पुछारमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार