काठमाडौं । रुपन्देहीमा सञ्चालित चारवटा उद्योगले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बिजुलीको महसुल तिरेका छन् । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार सोमबार ती उद्योगहरूले प्रिमियममा महसुलको बक्यौता तिरेका छन् । प्राधिकरणले किस्तामा महसुल दिन पाउने व्यवस्था गरेको थियो । सोहीअनुसार ती उद्योगले पहिलो किस्ताबापतको रकम तिरेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्ताबापतको रकम तिरेका हुन् । पहिलो किस्ताको पैसा तिरेसँगै उनीहरुको उद्योगमा विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।
ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताए । प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् ।
यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङले बिलविना नै महसुल उठाउन लागेको भन्दै व्यवसायीहरुले गुनासो गरेपछि अघिल्लो सरकारको पालामा महसुलको विषय रोकिएको थियो ।