काठमाडौँ – भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि लागू गरिएको ‘छबुँदे मापदण्ड’ खारेज गरिएको छ । अबदेखि नेपाली नागरिकले भिजिट भिसामा विदेश जानका लागि केवल चार प्रकारका कागजात पेस गरे पुग्नेछ ।
अध्यागमन विभाग, कालिकास्थानले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले पुराना मापदण्ड र परिपत्रहरू खारेज गर्दै नयाँ प्रस्थान प्रक्रिया आजैदेखि लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसार विदेश जाने नेपाली नागरिकले कम्तीमा ६ महिना वैधता भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन अराइभल भिसा पाइने मुलुकका हकमा त्यस्तो भिसा आवश्यक नहुने, गन्तव्यसम्मको हवाई टिकट र भ्रमण प्रयोजन र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी आफूले लिने उल्लेख भएको स्वघोषणा कागजातहरू पेस गर्नुपर्नेछ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयनमा आउने भएकाले सबै नेपाली नागरिकहरूले कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राबारे पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरिन्छ ।’