विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए ।

अमेरिकाका लागि हर्मित सिंहले छ विकेट लिए भने शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए ।

त्यसअघि ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २६२ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा नौ चौकाको सहयोगमा ७५ रन बनाएका हुन् । त्यस्तै मिलन्द कुमारले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा छ चौका र दुई छक्का प्रहार गरे । सैतेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रन जोडे ।

प्रतिक्रिया
सम्बन्धित समाचार