काठमाडौं- नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ ।
ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकपको टिकट काट्न सफल भएको हो ।
नेपालसँगै इस्ट एसिया प्यासिफिक क्वालिफायरको आयोजक टोली ओमानले पनि विश्वकपको यात्रा तय गरेको छ।
जारी प्रतियोगितामा नेपाल र ओमानको समान ६ अंक छ । तर नेट रनरेटका आधारमा ओमान अगाडि छ । यस्तोमा बुधबार नै नेपाल र ओमानबीच भिडन्त हुँदैछ ।
बुधबार भएको खेलमा यूएईले साओमालाई पराजित गरेसँगै नेपाल र ओमानले दुई खेल खेल्नुअघि नै विश्वकप यात्रा तय गरेका हुन् ।
विश्वकप छनोटको ट्रफी जित्न नेपाल ओमानलाई जित्नै पर्ने दबाबमा छ। बुधबारको प्रतिस्पर्धा ‘डु एण्ड डाइ’ जस्तै भएको भन्दै कप्तान रोहित पौडेलले बताएका हुन्।
समूह चरण र सुपर सिक्समा अपराजित रहँदै दुवै टिमले तालिकामा ६–६ अंक जोडेका छन् । रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।