काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब साढे ८ करोड बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई आइतबार ललितपुरको खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।
दुबईबाट आएको जहाजमा इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर गरिएको हो ।
सरकारी वकिलको कार्यालयका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबी गरिएको छ । यो मुद्दामा मंगलबारदेखि थुनछेक बहस अघि बढ्नेछ ।