खेलाडीका नाममा हुलाक टिकट प्रकाशन 

काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए ।

विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरूको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार १० रुपैयाँ दरको पाँच लाख प्रतिहुलाक टिकट प्रकाशन गरेको हो ।

नेपाल सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो । यस्तै, महिला क्रिकेटको उमेर समूहअन्तर्गत यू–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार