काठमाडौं । जेन–जी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेन–जी मुभमेन्ट एलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित पदाधिकारीको राजीनामा माग गर्दै आयोगमै औपचारिक पत्र दर्ता गरेको छ ।
समूहले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज उनीहरूले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् ।
जेन–जीले भौतिक उपस्थितिमै पत्र दर्ता गर्दा पनि राजीनामा नआए अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ । यसअघि जारी गरिएको विज्ञप्तिमा जेनजी मुभमेन्ट एलायन्सले अख्तियार प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति निष्पक्ष र प्रजातान्त्रिक प्रक्रियाबिना भएको आरोप लगाउँदै उनीहरूले आयोगको विश्वसनीयता गुमाएको दाबी गरेको थियो ।
विज्ञप्तिअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ बिना राजनीतिक भागबण्डाको आधारमा गरेको र त्यसले अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ ।
एलायन्सले विशेष अदालतको हालसालैको निर्णय उद्धृत गर्दै प्रमुख आयुक्त राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’को टिप्पणी आएको भन्दै राईको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
समूहले नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी र वाइडबडी विमान खरिदजस्ता ठूला प्रकरणहरूमा प्रमुख आयुक्तको नाम जोडिँदै आएको उल्लेख गर्दै नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग गरेको छ । अहिले संसद् नहुँदा महाअभियोगमार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै अख्तियारको गरिमा पुनःस्थापना गर्नुपर्ने समूहको भनाइ छ ।