वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट १ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा ५ अर्ब २५ करोड रुपैयाँका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । ‘गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ’, उनले भने ।

गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट ४ अर्ब ४७ करोड ७६ लाख राजस्व सङ्कलन भएको थियो भने चालु आवको दुई महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब १३ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ ।

चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि, गत आवको सोही अवधिमा ५१ करोड ६२ लाख मूल्यका २९५ वटा जीप, कार र भ्यान आयात भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार