काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ भदौ महिनामा घर जग्गा कारोबार थप घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख बिभागले तयार गरेको तथ्यांकअनुसार भदौमा मुलुक भर २७ हजार ४९४ वटा मात्रै घरजग्गाका कारोबार भएका छन् ।
लिखित पारितका आधारमा यस्तो देखिएको हो । गत साउनमा यस्तो कारोबार संख्या ३१ हजार ६२१ वटा थियो । गत आवको भदौमा भने ३२ हजार ७९८ वटा घरजग्गा कारोबार भएका थिए । ती दुवै महिनाको तुलनामा घर जग्गा कारोबार खस्किएको देखिन्छ ।
यसै पनि पछिल्लो २–३ बर्ष यता नेपालमा घरजग्गा कारोबार न्यून नै थियो । चालु आवको सुरुदेखि पनि घरजग्गा कारोबार न्यून थियो । भदौमा त्यस्तो कारोबार थप घटेको तथ्यांकले पुष्टी गरेको छ । भदौमा युवा आन्दोलनका कारण पनि घरजग्गा कारोबार प्रभावित भएको बताइन्छ । कित्ताकाट नखुल्दा पनि घरजग्गा कारोबार प्रभावित भएको देखिन्छ ।