काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछि भएको क्षतिको पुनर्निर्माणका तथा आगामी फागुनमा हुने चुनावको लागि स्रोत व्यवस्थापनका लागि टुक्रे आयोजनामा कटौती गर्ने निर्णय गरेका छन् । निर्णयसँगै स्रोत व्यवस्थापन गर्न ३ सदस्यीय कार्यदलसमेत बनाएका अर्थमन्त्री खनालले १३ सयवटा आयोजना काटिने बताएका हुन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाजसँगको भेटमा अर्थमन्त्रीले १३ सयवटा आयोजना काट्दा १ खर्ब १० अर्ब स्रोत व्यवस्थापन हुने बताएका हुन् । मन्त्री खनालले जेनजी आन्दोलनका कारण क्षति पुगेको सरकारी भवन र संरचनाहरु बनाउनुपर्ने र त्यसका लागि ठूलो बजेट खर्चनुपर्ने भएकोले पनि टुक्रे आयोजनाका बजेट कटौती गर्ने निर्णय गरेका हुन् ।
टुक्रे आयोजना कार्यान्यवन नगरेर केही नबिग्रने र त्यसवापतको रकमलाई सरकारी संरचनाको पुननिर्माणमा लगाउन सकिने बुझाइ अर्थमन्त्रालयको छ ।