काठमाण्डौ । सेयर बजारमा तेस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । नौ कारोबार दिनपछि बिहीबार खुलेको सेयर बजारमा लगातार तेस्रो सर्किट ब्रेक लागेको हो । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको पहिलो दिन बिहीबार नेप्से केही मिनेटमै बन्द भएको हाे । जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो । जसका कारण कारोबार खुलेदेखि नै बजारमा भीषण पहिरो गएको छ ।
बिहबिार कारोबार सुरु भएको २ मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो नेगेटिभ सर्किट लगाइएको थियो । २० मिनेट रोकेर पुनः कारोबार सुरु गरिए पनि १ मिनेटमै ५ प्रतिशतले नेप्से भटेपछि दोश्रो नेगेटिभ सर्किट लगाई कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो । त्यसपछि पुनः खुलेको बजारको भीषण पहिरो रोकिएन । फलस्वरुप केही मिनेटमै नेप्से ६ प्रतिशतले घटेपछि नियमअनुसार बजारको सम्पूर्ण कारोबार आजका लागि रोकिएको हो ।
खासगरी जेनजी आन्दोनलनका कारण देशभर विध्वंश मच्चिँदा र ठूलादेखि साना लगानीकर्ताहरुको सम्पत्ति, व्यवसायमा आक्रमण हुँदा सेयर बजारका लगानीकर्तामा पनि त्यसको नकारात्मक प्रभाव देखिएको हो । नेप्सेमा सूचिकृत केही होटल तथा अन्य समूहका कम्पनीमा आन्दोलनकारीले ठूलो क्षति पुर्याएका छन् ।
देशभरको सार्वजनिक तथा निजी सम्पत्ति, सवारी साधन लगायतमा भएको क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरुमा ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको तथ्यहरु बाहिरिएका छन् । यसले बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुको सेयरमा खरीद गर्न चाहने कोही छैनन्, सबै बिक्रीका लागि लाइन लागेर बसेका देखिएको छ ।