काठमाडौं – विश्व नम्बर एक आर्यना साबालेन्काले अमेरिकन खेलाडी अमान्डा एनिसिमोभामाथि विजय हासिल गर्दै यूएस ओपन उपाधि लगातार दोस्रो पटक जितेकी छन्। यससँगै उनले यस वर्षको पहिलो ग्रान्डस्ल्याम ट्रफी पनि आफ्नो नाममा लेखाएकी छन्।
न्यूयोर्कमा भएको महिला एकल फाइनलमा बेलारुसकी २७ वर्षीया साबालेन्काले स्थिर र प्रभावशाली प्रदर्शन गर्दै ६-३, ७-६ (७-३) ले एनिसिमोभालाई पराजित गरिन्। शक्तिशाली बल–स्ट्राइकरका रूपमा चिनिने दुवै खेलाडीबीचको रोमाञ्चक भिडन्तमा अन्ततः साबालेन्का विजयी साबित भइन्।
फाइनल जितेपछि घुँडा टेकेर रोएकी साबालेन्का यसअघि वर्षका दुई ग्रान्डस्ल्याम फाइनलमा पराजित भएकी थिइन्। निर्णायक क्षणमा ५-४ को अवस्थामा उपाधि जित्ने मौका गुमाए पनि उनले टाइ–ब्रेकमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो च्याम्पियनसिप प्वाइन्टमा जित सुनिश्चित गरिन्।
यस सफलता सहित साबालेन्काले आफ्नो चौथो ग्रान्डस्ल्याम एकल उपाधि जितेकी छन्। सिजनभरि डब्ल्यूटीए टुरमा प्रभावशाली प्रदर्शन गरे पनि ठूला प्रतियोगितामा मानसिक दृढता कायम राख्न नसक्ने भन्ने आलोचना यसपटक उनले परास्त गरेकी छन्।