एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु। १०० अंकित दरका २ लाख ६१ हजार ६२७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ०९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गते बैंकिङ समयपछि हुनेछ ।

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले एसवाई पयानलको रत्नगर चितवनको कार्यालय, प्रभु क्यापिटलको कमलादी र प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन वेबसाइटबाट र प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार