काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा हुने लगानीयोग्य पुँजी (तरलता) तान्न (प्रशोचन) गर्न नयाँ उपकरण प्रयोगमा ल्याउने भएको छ । निक्षेप संकलन र रिभर्स रिपो उपकरणबाट बैंकिङ प्रणालीमा रहेको तरलता तान्ने गरिरहेकोमा अब राष्ट्र बैंकले ऋणपत्र (बण्ड) जारी गरेर खिच्ने भएको छ ।
ऋणपत्र जारीका लागि तयारी भइरहेको राष्ट्र बैंकको प्रवत्ता तथा कार्यकारी निर्देशक किरण पण्डितले बाह्रखरीलाई बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार प्रक्रिया अघि बढेको उनले जानकारी दिए । मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार राष्ट्र बैंक ऋणपत्र निष्काशन गरिने उल्लेख छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा भएको तरलता तानिरहेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा लचिलो बनाएको छ ।
राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिए पनि कर्जा विस्तार नहुँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट धमाधम बैंकिङ प्रणालीबाट तरलता तानिरहेको छ ।
कर्जाको माग सुस्त हुँदा अर्थतन्त्रमा शिथिलता कायमै रहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाको ऋण असुली कमजोर छ । यसको असर बैंकको पुँजीकोष, नाफा र लगानी क्षमतामा देखिएको छ ।
राष्ट्र बैंकले बुधबार मात्रै ५० अर्ब रुपैयाँ तरलता तानेको छ । २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत तरलता तानेको हो । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ११ पटक निक्षेप संकलन उपकरणमार्फत पाँच खर्ब ८० अर्ब रुपैयाँ तरलता खिचेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत न्यूनतम २१ देखि अधिकतम ५६ दिनसम्मका निम्ति तरलता प्रशोचन गरेको छ । निक्षेपको तुलनामा कर्जा लगानी विस्तार नभएपछि बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।