अमेरिकाबाट निकालिए थप ३७ नेपाली, आज स्वदेश फर्कदै

काठमाण्डौ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको छ। अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले उनीहरूलाई चार्टर विमानमार्फत बुधबार (सेप्टेम्बर ३) नेपाल पठाउने तयारी गरेको हो।

नेपाल अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरको चार्टर फ्लाइट ‘उडान नम्बर N828AX’ बाट उनीहरूलाई  ल्याइनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म २०० भन्दा बढी नेपाली नागरिकलाई यसैगरी फिर्ता पठाइसकिएको छ। अहिलेसम्म डिपोर्ट हुने नेपाली २८ जिल्लाका रहेका छन्, जसमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका नागरिक छन्।

प्रहरीका अनुसार डिपोर्ट भएकामध्ये धेरैजसो व्यक्तिहरू संगठित दलाल समूहलाई ठूलो रकम बुझाएर अवैध बाटो (तल्लो रुट) हुँदै अमेरिका प्रवेश गरेका थिए।

ट्रम्प प्रशासनले २० जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि पदभार सम्हाल्दै गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई निष्कासन गर्ने नीति कडाइका साथ लागू गरेको हो। सो क्रममा नेपालसहित विभिन्न देशका १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीलाई निष्कासनको सूचीमा राखिएको र धरपकड अभियान सञ्चालन गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार