काठमाडौं । रेमिट्यान्स (विप्रेषण आप्रवाह) मा ऐतिहासिक रेकर्ड बनेको छ । आर्थिक वर्ष २०८१–८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड रुपियाँ पुगेको हो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । जसमध्ये २०८२ पछिल्लो महिना असारको विप्रेषण आप्रवाह मात्र एक खर्ब ८९ अर्ब ११ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु. ११७ अर्ब ७८ करोड रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु।१८७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५,०५,९५७ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या ३,३३,३०९ रहेको छ ।