काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा १७६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले मेलबर्न स्टार्स एकेडेमीविरुद्ध १७६ रनको लक्ष्य पाएको हो।
मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो। मेलबर्नका लागि ओपनर ब्ल्याके माकडोनल्डले सर्वाधिक ७४ रन बनाए। मात्र ४७ बल खेल्दै उनले ६ चौका र दुई छक्का प्रहार गरे।
यस्तै थोमस रोजर्सले पनि ४६ बलमा ७ चौका र एक छक्काको सहयोगमा ६५ रनको आक्रामक पारी खेले। सन्दीपले ३ विकेट लिए। ४ ओभर बलिङ गर्दै उनले २६ रन खर्चे। सोमपाल र सहाब अलामले १र१ विकेट झारे।
नेपालको यो तेस्रो खेल हो। यसअघिको दुवै खेलमा नेपाल पराजित भएको थियो। आरिफ शेख, भीम सार्की र दोस्रो खेलमा बेन्चमा बसेका साहब आलमलाई पनि आज प्लेइङ ११ मा राखिएको छ।