काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाका लागि कुमारी बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ ।
समृद्धि इनर्जी लिमिटेडले प्रवर्द्धन गरिरहेको यस आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन् ।
एनएमबी बैंकको सह–नेतृत्वमा अन्य १३ वटा बैंक तथा वित्तीय संस्थाहरू आयोजनामा सहवित्तीयकरणमा सहभागी भएका छन् ।
झन्डै ४१ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको ७० प्रतिशत हिस्सा ऋणमार्फत र बाँकी ३० प्रतिशत स्वपुँजीबाट निर्माण गरिनेछ । अर्ध जलाशययुक्त प्रणालीमा आधारित आयोजना ४.५ घण्टा पिकिङ्ग क्षमता सहितको हुनेछ, जसबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ ।
२०७८ सालमै विद्युत खरिद सम्झौता (PPA) भइसकेको आयोजनाले २०८८ सालको असार महिनासम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रशारण लाइनमार्फत उत्पादन भएको विद्युत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।