माडर भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिरहा– जिल्लाको प्रमुख भन्सार कार्यालय माडरले आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा उल्लेखनीय सफलता हात पारेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा दुई करोड ७० लाख ६९ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्दै कुल १४ करोड ८३ लाख ६१ हजार रुपैयाँ सङ्कलन गरेको हो ।

भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार आर्थिक वर्षको अधिकांश महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाइएको छ । मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भए पनि बाँकी सबै महिनामा लक्ष्य पार भएको बताउँदै उनले समग्रमा १२२ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए ।

गत चार वर्षको तुलनामा गत आवको राजस्व सङ्कलन सबैभन्दा बढी भएको प्रमुख सापकोटाले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ मा ११ करोड २१ लाख ९७ हजार, आव २०७९/८० मा नौ करोड ३६ लाख १० हजार र आव २०८०/८१ मा नौ करोड ४६ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार