काठमाडौं– बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ। बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे नेपाल र श्रीलंका आमनेसामने हुनेछन्। नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो। यस प्रतियोगिताको दाबेदारको रूपमा रहेको बंगलादेशले नेपालमाथि एक जितको एड्भान्टेज पाइसकेको छ। अब गोलअन्तरमा आफुलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ।
प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ। गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ। नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ। यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ। हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ।