काठमाडौं । मंगलबार बिहान करिब ३ बजे लेन्दे नदीमा आएको बाढीले रसुवास्थित रसुवागढी–केरुङ सीमा नाकाको मितेरी पुल बगायो । मितेरी पुल बगाएसँगै नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका बन्द भएको छ । बाढीले पुल बगाएसँगै चीनसँगको मुख्य व्यापार टुटेकोे छ । आवत–जावत पूर्ण रुपमा बन्द भएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित लेन्दे नदीमा अचानक आएको बाढी भोटेकोसी हुँदै त्रिशुलीसम्म आइपुग्दा ठूलो जनधनको क्षति भएको छ ।
बाढीमा परी ६ जना चिनियाँ नागरिक, तीन प्रहरी र ११ जना सर्वसाधारणसहित गरी १८ जना सम्पर्कविहीन भएका छन् । बाढीमा फसेका ५५ जनाभन्दा बढीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको छ ।
बाढीले चिलिमे जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ए जलविद्युत् आयोजना, त्रिशूली थ्री बी सबस्टेसन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा क्षति गरेको छ ।
बाढीले ठूलो क्षति चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार नाकामा गरेको छ । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारी मंगलबार अपरान्हसम्म सम्पर्कमा आएका छैनन् । नेपाल–चीन प्रमुख व्यापारिक नाका बन्द भएको कारण अहिले व्यापार पूर्ण रुपमा ठप्प बनेको छ।