काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपियाँ बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म रेमिट्यान्स १५.५ प्रतिशतले वेृद्धि हुँदै १५ खर्ब ३२ अर्ब ९३ करोड रुपियाँ भित्रिएको हो । यो हालसम्मकै उच्च हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतलेबढेको थियो । २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह रु.१७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तोआप्रवाह रु.१२८ अर्ब ९१ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १६६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४४३ अर्ब १० करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,०८,०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।