काठमाडौं । सूचना प्रविधि उद्योगले अब विदेशमा समेत लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संलग्नबमोजिम संशोधन ९चौथो संशोधन० जारी गर्दै सूचना प्रविधि उद्योगलाई अमेरिकी डलरमा १० लाखसम्म लगानी लैजान दिने व्यवस्था गरेको हो ।
विदेशमा लगानीको नियमन सम्बन्धी व्यवस्थाको (१) मा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र तथा उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने बताइएको छ ।
दफा (३) को उपविनियम (२) बमोजिमका सूचना प्रविधि उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनु पर्ने बताएको छ ।