गण्डकी– पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् ।
सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकोमा ३० हजार किलोग्राम बिक्री गरेका छन् । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको हानी भएको किसान आचार्यले जानकारी दिए । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरूलाई पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो ।
सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । परीक्षणका रूपमा गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए।