काठमाडौं । बढ्दो तरलताको चापमा बैंक तथा वित्तीय संस्थाहरु रहिरहेपनि अघिल्लो वर्षको तुलनामा यस वर्ष निजी क्षेत्रमा प्रवाहित कर्जाको आकार ७ प्रतिशतमाथिले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको केन्द्रीय बैंकले यस वर्ष बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड रुपियाँ अर्थात् ७.३ प्रतिशतले बढेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो ।