१० महिनामा भित्रियो साढे १३ खर्ब रेमिट्यान्स

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा साढे १३ खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३५६ अर्ब ६१ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह १६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह ११५ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०१ अर्ब ७५ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४,०५,६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २,८०,३१४ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार