काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।
पटकपटक बस्न नसकेको बैठक आज सुचारु हुन्छ अथवा हुँदैन निश्चित छैन । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएको हुनसक्ने भन्दै छानबिनमा सहयोग गर्न उनले राजीनामा दिनुपर्ने माग विपक्षीको छ । संसद्को अवरोध हटाउने सत्तापक्षको आग्रहमा माओवादी केही लचक भए पनि रास्वपाले भने मानेको छैन ।
सत्तापक्षले भिजिट भिसा प्रकरणमा अख्तियारलाई सहयोग गर्ने आसयको प्रस्ताव तयार पारेको छ । तर अख्तियारले अनुसन्धान टुंग्याएपछि के गर्ने भन्ने विषयमा अहिले नै सहमति कायम हुनुपर्ने रास्वपाको अडान छ ।
संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन । जेठ २० गतेबाट लागातार बैठक अवरुद्ध हुँदा सदन सुचारु हुन सकेको छैन ।