काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा सद्भावनासहित नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन्। नमाज पढिसकेपछि एकापसमा सद्भावसहित शुभकामना आदानप्रदान गर्ने गरिन्छ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो।
हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको जानकारहरू बताउँछन्।
नजिकको प्यारो चीज कुर्वान (बलिदान) दिन अल्लाहको आदेश भए बमोजिम इब्राहिमले छोरा इस्माइल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाहले परीक्षामा उत्तीर्ण भएको भन्दै प्रशन्न भई त्यसलाई रोकेको मुस्लिम धर्मावलम्बीको विश्वास छ। यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको ऐतिहासिक पृष्ठभूमि छ।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेको इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन्।
जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको उनले बताए।